मिडियाबाजी डटकम काठमाडौँ, फागुन २० । हिमालय एयरलाइन्सले आउँदो चैत १८ मार्च ३१ देखि पोखराबाट उडान सुरू गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयले नियमित व्यवसायिक उडान गर्ने भएको हो । एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सातामा एउटा उडान गर्ने जनाइएको छ ।
यो विमानस्थल २०७९ पुसमा सञ्चालनमा आएको हो । अहिलेसम्म नियमित व्यवसायिक उडान हुन सकेको थिएन । हिमालयले व्यवसायिक उडान थालेसँगै यो नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ । नेपाल र चीनबीचको हवाई सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ यो गन्तव्यमा व्यवसायिक उडान गर्न लागेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत बताएको छ ।