मिडियाबाजी डटकम काठमाडौँ, फागुन २० । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो ।
विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा सञ्चालनमा बाध पुगेको थियो । अस्पतालमा सो सेवा सञ्चालनको उपकरण हुँदा पनि जनशक्ति नहुँदा सेवा सञ्चालनमा बाधा पुगेको थियो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईँका अनुसार सम्भव रहेसम्म आगामी आइतबारबाट सेवा सञ्चालनको तयारी गरिएको छ । यसैसाता सेवा थप गरी उपचार कार्य अघि बढाउने तयारी गरिए पनि व्यवस्थापनको काम पुरा नहुँदा समस्या भएको उनले बताए ।