मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २० । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकता घोषणा वैशाखमा हुने भएको छ । दुवै पार्टीले एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
एकीकरणलाई अन्तिम रूप दिन दुवै पार्टीले कार्यदल गठन गरेका छन् । दुवैका कार्यदलले प्रतिवेदन बनाउने काम गरिरहेका जनमतका उपाध्यक्ष एवं कार्यदल सदस्य अब्दुल खानले बताए ।
उक्त प्रतिवेदन पार्टीमा बुझाइसकेपछि पार्टी एकता घोषणा गरिने उनको भनाइ छ । कार्यदलले बुझाएको प्रतिवेदनबारे पार्टीको केन्द्रीय समितिको बैठक बसेर अनुमोदन गरेपछि एकताको घोषणा हुन्छ । दुवै पार्टीले केन्द्रीय समितिबाटै कार्यदल गठन गरेका थिए ।
पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न, राजनीतिक प्रतिवेदनलगायत मुख्य कुरामा सहमति भइसकेको छ । दुवै दलमा रहेका अन्य पदाधिकारी तथा अन्य शीर्ष नेताहरूलाई कसरी व्यवस्थापन गर्ने विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ । पार्टीको नाम ‘जनमत पार्टी’ रहने छ भने त्यसका अध्यक्ष डा।सीके राउत रहने सहमति भइसकेको छ ।
सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ भने संरक्षकमा रेशम लाल चौधरी रहने अहिलेसम्मको सहमति रहेको स्रोतको दाबी छ । चुनाव चिह्न भने नागरिक उन्मुक्ति पार्टीको ‘ढकिया’ रहने सहमति भएको छ ।
अन्य पदाधिकारी तथा नेताहरूको पदबारे कार्यदलले छलफल गरिरहेको छ ।