मिडियाबाजी डटकम काठमाडौँ, फागुन १८ । बैतडीमा खाँना खाँदै गरेका एक युवकको छिमेकीले गोली हानी हत्या गरेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका –८ कालागाउँ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टलाई दाजु नाता पर्ने छिमेकी ४५ वर्षीय कर्णबहादुर विष्टले गोली हानी हत्या गरेका हुन् ।
शनिबार बेलुकी ८ बजेतिर होटेलमा साथीहरुसंग खाना खाँदै गरेको समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी मितेन्द्र मिश्रले जानकारी दिए । हत्या गरिएका सुरेन्द्र जिप चालक हुन् । शनिबार उनी स्थानीय एउटा होटेलमा जिप पार्क गरी चार जना साथीहरुसंगै बसेर खाना खाइरहेका थिए। सुरेन्द्र सँधै सोही होटलमा खाना खान्थे ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरेन्दले कर्णबहादुरबाट ४० हजार रूपैयाँ पैसा लिन बाँकी रहेछ । त्यही विषयमा शनिबार साँझ पनि झगडा भएको थियो। झगडाको क्रममा सुरेन्द्रले कर्णबहादुर दुई झापड हानेका थिए। झगडा गाउँलेहरूले छुटाएका थिए ।