मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १९ । मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक भएको हो ।
मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६÷८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए । बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानीत रकम र बित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपत्तकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ भने नेपाल स्टक एकस्चेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणी चापागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको कार्यकारी निर्देशक पदमा कृषि मन्त्रालयका वरिष्ठ अर्थ बिज्ञ डा. प्रद्युम्नराज पाण्डेलाई नियुक्त गरेको छ भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले म्यानमार सरकारलाई औषधि लगाएतका राहत सामाग्री उपलव्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने निर्णय समेत गरेको छ ।


