मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ ।
बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।
वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछ ।
अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ । उनले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।