बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाइ हुने

  पुष १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १४ । बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाइ हुने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारलाई कडाई गर्न नयाँ मापदण्ड बनाउन लागेको छ ।

प्राधिकरणले ‘बीमक स्थिर सम्पत्ति सम्वन्धी निर्देशन, २०८१’ को मस्यौदा तयार पारेको छ । कम्पनीहरुको स्थिर सम्पत्ति खरिदबिक्री, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन सो मस्यौदा तयार गरिएको प्राधिकरणले जनाएको छ ।

मस्यौदा अनुसार अब बीमा कम्पनीहरुले घरजग्गा खरिद, निर्माण गर्न भन्दा पहिले प्राधिकरणबाट सैदान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्नेछ । तर, घरजग्गा बाहेकका अन्य स्थिर सम्पत्ति खरिद, निर्माण गर्दा भने स्वीकृति लिन नपर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै, घरजग्गा खरिद गर्दा प्रयोजन भने खुलाउने पर्नेछ । बीमा कम्पनीले घरजग्गा खरिद, निर्माण गर्न निवेदन पेश गर्दा कुन प्रयोजनका लागि हो त्यो स्पष्ट खुलाउनुपर्ने छ । कम्पनीहरुले कार्यालय, व्यावसायिक, कार्यालय तथा व्यावसायिक प्रयोजन खुलाउने पर्नेछ ।

प्राधिकरणका अनुसार कार्यालय प्रयोजन र कार्यालय तथा व्यवसायिक प्रयोजन दुवैका लागि भए निर्देशनको व्यवस्था बमोजिम स्वीकृत प्रदान गरिनेछ । यी दुवै प्रयोजनका लागि प्रयोग हुने हिस्साको लागत र प्रतिशत खुलाई प्राधिकरणमा निवेदन पेश गर्नुपर्नेछ । तर, कम्पनीहरुको घरजग्गा खरिद, निर्माण व्यावसायिक प्रयोजनका लागि मात्र भए बीमकको लगानी निर्देशन बमोजिम स्वीकृत प्रदान गरिनेछ ।

प्राधिकरणका अनुसार सैद्धान्तिक स्वीकृतिका लागि प्राप्त निवेदन र सो साथमा संलग्न कागजातको जाँचबुच गर्दा स्वीकृति दिन उपयुक्त हुने देखिएमा कुनै शर्त तोकि वा नतोकी स्वीकृति प्रदान गर्न सक्ने मस्यौैदामा उल्लेख छ। यस्तै, प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको मितिले ४ महिनामा भित्रमा खरिद, निर्माण प्रक्रिया अघि बढेको प्रमाण पेश नभएमा दिइएको स्वीकृति स्वतः रद्द हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर