मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १३ । बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । कुशवाहा हत्याका आरोपी बाराको आदर्शकोतवाल गाउँपालिका–२ का ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो ।
सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने चरित्रका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले बताए ।
बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।