‘अब रोकिएको आइपिओहरु धमाधम निष्कासन हुन्छन्’ : अध्यक्ष श्रेष्ठ

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १२ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।

बुधवार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए । उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे ।

उनले धितोपत्र बोर्डको अध्यक्ष विहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठुलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गरे । उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताए । उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने बताए ।

अध्यक्ष श्रेष्ठले पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्ने बताए । उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनले पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोसिस गर्ने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर