मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही मंसिर १८ गते भेटवार्ता हुने भएको छ । ओली र चिनफिङबीच बेइजिङमा भेटवार्ता हुने तय भएको हो । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली १७ गतेदेखि २० गतेसम्म भ्रमणमा रहने छन् ।
यसअघि चीनले १७–२१ मंसिरका लागि भ्रमण मिति प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७–२० मंसिरसम्म भ्रमण हुने टुंगो लागेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी तीव्ररूपमा चलिरहे पनि भ्रमणको आधिकारिक घोषणा भने भइसकेको छैन ।
सम्भवतः १४ मंसिरमा बेइजिङ र काठमाडौँबाट एक साथ भ्रमणको घोषणा हुनेछ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किने गरी भ्रमणको तयारी भइरहेको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्ने कार्यक्रम छ ।