मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ११ । सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापेकी विनु यादव पक्राउ परेकी छिन् । आज बिहान सर्वोच्च अदालतको गेटमा रहेको बोर्डमा कालो रङ्ग छ्यापेकी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
कालो साडीमा आएकी विनुले बोतलमा ल्याएको कालो रङ्ग सर्वोच्च अदालतको बोर्डमा छ्यापेकी थिइन् । सिरहाकी यादवले श्रीमानबाट घरेलु हिंसामा परेको बताउँदै आएकी छिन् । यादवले श्रीमानबाट आफू हिंसामा परे पनि न्याय नपाएको भन्दै दुई वर्षयता आन्दोलन गर्दै आएकी छिन् ।
विनु यादवले प्रदर्शन गर्ने पूर्व सूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो। तर, विनुले मोटरसाइकलबाट उत्रिन साथ कालो छ्यापेपछि प्रहरीले रोक्नै भ्याएन । लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । उनलाई सिंहदरबार वृत्तमा लगिएको छ । यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ ।