मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १० । मातृ तथा शिशु मृत्युदर सोचेअनुसार घट्न नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिअन्तर्गत दिगो विकास उपसमितिले अयोजना गरेको छलफल कार्यक्रममा मातृशिशु मृत्युदर घटाउन नेपाली समाज र चेतनाअनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको कुरामा जोड दिएका हुन् । अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने यो दरलाई दोहोर अंक हुँदै एकल अंकमा घटाउन सक्ने धारणा सरोकारवालाहरुको थियो ।
सरोकारवालाले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरलाई दोहोरो अंक हुँदै एकल अंकमा झार्ने गरी योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । यसअघिको तथ्याङ्कमा नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा मातृ मृत्युदर २ सय ५८ रहेको थियो । त्यसलाई सन् २०३० सम्ममा घटाएर ७० मा झार्ने लक्ष्य लिइएको छ ।
त्यस्तै, पाँच वर्षमुनिका बाल मृत्युदर नेपालमा ३९ रहेको छ । त्यसलाई पनि २० मा झार्ने लक्ष्य लिइएको छ । करिब ५० प्रतिशत स्थानिय तहले मातृमृत्युदर शुन्यमा झार्ने प्रयास गरिरहेकोले त्यसलाई सबै स्थानीय तहमा लैजान पनि उनीहरुको जोड थियो ।