मकवानपुरमा पनि भेटिए हैजा संक्रमित, यो हप्ता मात्रै ९ जना विरामी

  भदौ ०९, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ९ ।  यो हप्ता देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार भदौ ३ गतेसम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगु पुष्टि भएकोमा भदौ ८ गतेसम्म आइपुग्दा यो संख्या बढेर ५ हजार ११९ जना संक्रमित पुगेको छ ।

यस्तै डेंगु संक्रमणबाट यो वर्ष हालसम्म ३ जना विरामीको मृत्यु भएको इडिसिडीले जनाएको छ । यस्तै हालसम्म तनहुँ जिल्ला डेंगुको रेड जोनमा परेको छ। डेंगुको ५ सयभन्दा बढी संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्ने गरिन्छ ।

इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन् । अघिल्लो हप्ता तनहुँमा हाल ७८१ जनामा डेंगु पुष्टि भएकोमा यो हप्ता १ हजार ४५ जना पुगेका छन्। त्यसैगरी दोस्रोमा काठमाडौँमा ४२१ जना संक्रमित रहेका छन् ।

अघिल्लो हप्ता काठमाडौंमा ३८० जना संक्रमित थिए। त्यसपछि क्रमशः कास्कीमा ४०८, पर्वतमा २७२ र चितवनमा ४६८ जनामा डेंगु पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगु देखिएको छ । यो वर्ष हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

हैजा संक्रमित ६७ जना पुगे

डेंगु संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन् । इडिसिडीको विवरणअनुसार हाल हैजाका संक्रमितको संख्या ६७ पुगेको छ। अघिल्लो हप्ता सम्म हैजाका संक्रमित ५८ जना थियो। यो हप्ता ९ जना हैजाका नयाँ विरामी भेटिएका छन् । इडिसिडीका विवरणअनुसार यो हप्ता ललितपुरमा ६ वटा, काठमाडौंमा २ वटा र मकवानपुरमा एकजना हैजाका नयाँ विरामी भेटिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर