मिडियाबाजी डटकम काठमाडौँ , असोज ६ । इंग्ल्यान्डविरुद्धको सिरिजमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । शनिबार लिड्समा भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ६८ रनले हरायो। अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०२ रनमा सीमित भयो ।
इंग्ल्यान्डका लागि बेन डुकेटले ४९ रन बनाए । यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन् । अस्ट्रेलियाका मिचेल स्टार्कले ९ दशमलव २ ओभरमा ५० रन खर्चिँदै ३ विकेट लिए। एरोन हार्डीले ८ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४४ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २७० रनको योगफल खडा गरेको थियो । अन्य खेलमा धिमा सुरुवात गरेको अस्ट्रेलियाले मध्य क्रमका मिचेल मार्स र एलेक्स क्यारीको पारीपछि खेलमा प्रभाव जमाएको हो । तेस्रो क्रममा ब्याटिङ गरेका मार्सले ५९ बलमा ६० रन बनाए । यसैगरी एलेक्स क्यारीले ६७ बलमा ७४ रन जोडे। उनी खेलको म्यान अफ द म्याच बने । अन्तिम विकेटको रूपमा उनलाई ओले स्टोनले आउट गरेका थिए ।