मिडियाबाजी डटकम काठमाडौँ , पौष ६ । नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स पुष्टि भएको छ । स्थायी ठेगाना तनहुँ भएका ३६ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको हो ।
साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिए । यसअघि सन् २०२३ को जुनमा नेपालमा पहिलो पटक एक विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो ।
सङ्क्रमण भएका ती पुरुषको काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ‘आइसोलेशन’मा राखी उपचार भइरहेको छ ।
मन्त्रालयका प्रवक्ता बुढाथोकीका अनुसार काठमाण्डूको एउटा निजी अस्पतालले रिफर गरेपछि उनी बिहीवार नै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल गएका थिए। यसअघि २०८० असारमा विदेशबाट आएकी एक जना ६० वर्षीय विदेशी महिलामा मङ्कीपक्सको सङ्क्रमण देखिएको थियो ।
ुमङ्कीपक्सु भाइरसबाट सङ्क्रमित मुसा र बाँदरजस्ता जनावर र सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिबाट यो भाइरस फैलिने चिकित्सकहरू बताउँछन्। यो मानिसहरूलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो। तर यो कम घातक भएको बताइन्छ । यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ । यो रोग प्रायः उष्णतटीय वर्षावननजिक रहेका डीआर कङ्गोजस्ता अफ्रिकी देशहरूमा पाइन्छ । यो क्षेत्रमा बर्सेनि हजारौँ व्यक्तिमा यसको सङ्क्रमण हुने गरेको छ भने सयौँको मृत्यु हुने गरेको छ ।