चन्द्रागिरीमा च्याउ तथा तरकारी खेती समूह गठन

  बैशाख ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, वैशाख ८। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा च्याउ तथा तरकारी खेती गर्दै आएका किसानहरूको समूह चन्द्रागिरी च्याउ तथा तरकारी उत्पादन र बिक्रि कृषक समूह गठन गरी कार्यालय समेत उद्घाटन भएको छ।

कार्यक्रममा बागमती प्रदेशका बिना विभागिय मन्त्री रमा आले मगर प्रमुख आतिथि र चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रह्लाद रिजाल विशेष आतिथिको रुपमा उपस्थिति रहेको थियो । हिजो शुक्रबार उक्त समूहको गठन तथा कार्यालय उद्घाटन भएको हो । चन्द्रागिरी नगरपालिका वडा नम्बर न ८ ढाक्सीमा शुक्रबार उद्घाटन भएको समूहको अध्यक्षमा श्याम कृष्ण राउत,सचिवमा नुन बहादुर घलान (प्रदिप ) र कोषाध्यक्षमा दुर्गा तामाङ सहित ७ सदस्यीय सञ्चालक समिति गठन भएको समूहका सचिव नुन बहादुर घलान (प्रदिप) ले जानकारी दिए ।

चन्द्रागिरी नगरपालिकामा च्याउ तथा तरकारी खेती गर्दै आएका किसानहरूको च्याउ र तरकारी उत्पादन र बजारीकरणका सन्दर्भमा देखापरेका समस्या समाधानका लागि पहल गर्नुको साथै च्याउ तथा तरकारी खेतीलाई वृहत बनाई अहिले देखिएको युवाहरूको विदेश पलायनलाई रोक्ने उद्देश्यले समूह गठन गरिएको समूहका सचिव घलानले बताए ।

सरकारले अहिले कृषकहरूलाई दिने अनुदान लिन धितो राख्ने लगाएत विभिन्न झमेलाहरू हुने भएकाले अनुदान खाए खा नखाए घिच भन्ने अवस्था रहेकाले यो अवस्था सरकारले सच्याउनुपर्ने र कृषि गर्ने किसानहरूलाई बिना धितो अनुदान दिनुपर्ने सचिव घलानको भनाई छ।च्याउ कृषकहरूले भोग्नु परेका समस्याहरू दाउरा ,पराल ,बीउ बिजन,ढुवानी, कृषि अनुदान ऋणबाट बन्चित हुनु लगाएतका समस्यालाई समूहले छलफल गर्दै सम्बन्धित निकायमा गई समाधान गर्न पहल गर्नुको साथै च्याउखेतीलाई व्यापक बनाउने योजना समूहको रहेको समेत घलानले बताए।

तपाईंको प्रतिक्रिया

थप खबर