मिडियाबाजी डटकम काठमाडौं ,फागुन ८ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।