विश्वकप लिग-२: एकदिवसीय क्रिकेटमा क्यानडासँग पहिलो पटक पराजित भयो नेपाल

  असोज ०१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज १ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पहिलो पटक पराजित भएको छ। सोमबार राति भएको विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो। उसका लागि कप्तान निकोलस कीर्टनले ७३ रनको नटआउट इनिङ खेल्दा ओपनर नभनित धलिवालले ४८ रन बनाएका थिए।

त्यस्तै, डिलोन ह्यालीघरले ३० रन बनाउँदा हर्ष थकरले २७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा सदबिन जफर र पर्गत सिंहले समान १७-१७ रन बनाउँदा आरोन जोनसोन र कलिम सानाले १०-१० रनको स्कोर बनाएका थिए।

नेपालका लागि सोमपाल कामी, ललित राजवंशीले २-२ विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा, रोहित पौडेलले समान १-१ विकेट लिए।

२ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङको सिकार बन्यो। नेपालका लागि करन केसीको २७ रन सर्वाधिक बन्यो। उनी बाहेक सन्दीप लामिछानेले २२ रन बनाउँदा आसिफ शेखले २० तथा भिम सार्कीले १८ रन बनाएका थिए। गुल्सन झा १५ रन बनाएर आउट भए। नेपालको शीर्ष क्रम धरासायी बन्यो। केवल ६२ रनको अवस्थामा ५ खलाडी आउट हुँदा पछिल्लो क्रमले केही समय इनिङ सम्हाले पनि ४०.१ ओभरमा १ सय ५० रन बनाउँदा टोली अलआउट भएको थियो।

नेपालविरुद्ध कसिलो बलिङ गर्ने क्रममा क्यानडाका लागि डिलोन ह्यालीघरले ५ विकेट लिए। अलराउन्डर प्रदर्शन गरेका हलीघर प्लेयर अफ द म्याच घोषत भए। त्यस्तै, अखिल कुमार र अन्स पटेलले २-२ विकेट लिँदा साद बिन जफारले १ विकेट लिएका थिए।

अब नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाललाई पराजित गरेको क्यानडा अंक तालिकाको ९ खेलबाट १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। नेपाल भने सातौं स्थानमा छ।

तपाईंको प्रतिक्रिया

थप खबर