विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १ ।   विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।

भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन् ।

तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे । मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । धार्मिक पर्यटकका लागि पनि यो महत्वपूर्ण बन्ने बताए । त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए ।

विश्व हिन्दु परिषद्को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामूहिक विवाहको कार्यक्रम राखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर