अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा २६ हजार ९ सय उजुरी

  भदौ ३०, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा आर्थिक वर्ष २०८०/८१ मा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् ।

आईतबार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सो जानकारी दिएका हुन ।

उनले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरु समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए । 

राईले भने‚ ‘आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा २६ हजार ९१८ उजुरी प्राप्त भएका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरी समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको थियो। यो अवधिमा कुल ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्स्यौट भएका छन्।’

प्रमुख आयुक्त राईले फछ्र्यौट गरेका उजुरीहरुमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५९३ वटा उजुरीहरु तामेली गरिएको बताए । 

तपाईंको प्रतिक्रिया

थप खबर