हरितालिका तिज र विकृती भित्रिएको संगीत

  श्रावण ३१, २०८१

टलक थापा ‘थकित’

मिडियाबाजी डटकम काठमाडौँ ,साउन ३१ ।  नेपाली नारीहरूको महान पर्व हरितालिका तिज आउन केही महिना अगाडि देखिनै विभिन्न पार्टी प्यालेसहरूमा दर खाने चलन भित्रिएको छ । पोहोर परारको तुलनामा यसपाली भने यो क्रम केही घटेको छ ,देशमा घटेका विभिन्न दुर्घटना तथा अन्य घटना क्रमको कारण यसपाली अगाडि देखि हुने तडक भडक कम भएको हुनुपर्दछ।दर के हो ? दर किन खाने भन्ने कुरानै आजको दिनमा आई पुग्दा यस्को महत्व हामिले भुलिसकेका छौं ।
दर खानको लागि मात्र खाने होईन दर खानेको पछाडि पनि कारण छ ।

तिजको दिनको व्रत होस् वा अन्य समयमा पनि तीन प्रकारले व्रत लाई विभाजन गरिएको छ ।

१.फलाहार
२.जलाहार
३.निराहार

यिनै तीन प्रकारको व्रतमध्ये हरितालिका तिजमा पनि नारीहरूले आफूलाई जुन सहज लाग्छ त्यहि व्रत लिने गर्दछन् ।
तिजको व्रत बस्दा चौबिस घण्टा पछि मात्र खाने चलन भएको हुनाले तिजको अघिल्लो राती अबेरसम्म दर खाने गरिन्छ, दर भनेसी विशेष गरि घिउ प्रयोग हुन्छ ,घिउ हालेर खाना खाएपछि निकै आडिलो हुने धेरै समय सम्म पनि भोक नलाग्ने भएको हुनाले बुढा पाका हरुले घिउ प्रयोगको चलन चलाएका हुन्,तर आज भोलि यसलाई फेसन र देखावटी तिर लगिदैछ दर खाने स्थान माईती, मावली,तथा आफन्तजनको घरबाट होटल, रेस्टुरेन्ट, पा्टीप्यालेसतिर सरेको छ ।

प्रविधिको विकाससँगै तिजका गीत संगीतहरूको व्यवसायले पनि धेरै गति लिएको छ,पहिले पहिले रेडियो नेपालबाट एक दुई वटा मात्र तिज गीत सुन्न पाईन्थयो,तर आज भोलि रेकर्डिङ स्टुडियोहरू धेरै खुलिसकेका कारण पैसा भएपछि रेकर्ड गर्न सजिलो छ, स्वर जस्तो भएपनि प्रविधिले मिलाई हाल्छ, त्यसकारण तिज आउनु भन्दा केही महिना अगाडि नै धेरै गीतहरू बजारमा आईसक्छन् ।
व्यावसायिक हिसाबले भने यसलाई राम्रो मान्न सकिन्छ ।
तर हामीले बालापनमा सुन्दै आएको तिजको भाका भने आजकाल सुन्न पाईंदैन,कता कता रत्तेउली जस्तो पनि लाग्छन् आजकालका तिज गीतहरू ।

पाँच ,सात वर्ष अगाडीबाट कोमल वलीको पोईला जान पाम भन्ने तिज गीतबाट धार बदल्न थालेको तिज गीतले , दुई वर्ष अगाडि शिव हमाल र आशिष अविरलको के हुन्छ होला बिहेको राती भन्नेसम्म आईपुग्दा यस्ता अपाच्य तिज गीतहरू औंलामा गन्न सक्ने मात्र भेटिन्थे भने ,यस वर्ष त यस्ता गीतको संख्यामा वृद्धि भएका छन् ।

राष्ट्यि लोकसञ्चार कर्मी नेपालले तिजका नाममा आएका छाडा केही गीतहरूलाई प्रतिबन्ध लगाउने भनेर एकसाता अगाडि विज्ञप्ती निकाल्यो त्यस पश्चात् आफूबाट भएको गल्तीको महसुस गर्नुको साटो तीन महिने सुईकी गायिका प्रिती आलेले राष्ट्रिय लोकसञ्चार कर्मीले निकालेको प्रेस विज्ञप्ती प्रति हुङ्कार छाडदै ,पत्रकारिता आफूलाई पनि थाहा भाको र मेरो गीत प्रतिबन्ध लगाउने हैसियत कसैको पनि नभएको बताईन् ।

तिजको नाममा आज भोलि बजारमा आएका गीतहरूमा अपाच्य शब्द अनि , अश्लिल चलचित्रको जस्तो अर्ध नग्न भिडियो राखेको हुन्छ, सामूहिक परिवारमा बसेर गीतको शब्द सुन्न सकिदैंन, भिडियो हेर्नको त कुरै नगरौं । ती शब्द र भिडियोहरू हेर्दा ,लाग्छ ती कलाकारहरूको आफन्तहरू बुबा आमा दाजु भाइहरु छैनन्,अनि छन् भने तिनले आफ्ना चेलीहरू नाङ्गिएको सगर्भ हेर्न कसरी सक्छन् हैन भने आफ्ना छोरी चेलीहरूलाई यस्ता खाले सिर्जना नगर्न सुझाव किन दिँदैनन् या दिएर पनि उनीहरू मान्दैनन् ?

नेपाली संगीतमा भर्खरै लाग्दै गरेका सर्जक तथा गायक गायिकाहरूलाई त सुरुमै भाईरल हुनु पर्छ भन्ने रोगले यस्ता खाले सिर्जना निर्माण गर्छन् होला,तर पुराना स्थापित भैसकेका कलाकारहरू पनि यस्ता सिर्जनामा किन लाग्छन्,चर्चित गायिका शान्ति श्री परियारले बिस्ताराले पोल्यो कालेले के के बोल्यो बोल्यो भन्ने बोलको यसपालीको तिज गीतबाट माफि माग्नु पर्‍यो दुर्गेश थापाले अस्ति एउटा कार्यक्रममा अब देखि म नेपाली समाजलाई नपच्ने गीत बनाउँदिन ,पछिसम्म हेर्न मिल्ने बनाउँछु भने ।

केही महिना अगाडि लाईभ दोहोरीमा छाडा शब्द को गीत गाएको भनेर ,राष्ट्रिय तथा लोक दोहोरी प्रतिष्ठानले गायक बालचन्द्र बराललाई कार्बाही गर्‍यो ,त्यसपछी छाडा शब्द कै विषयमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले १२ जना कलाकारहरूलाई ७ दिने अल्टिमेटम दिएर पत्र काट्यो, १२ जना मध्ये लाईभ दोहोरी गायिका तारा थापाले उक्त विवादित गीत युटुबबाट हटाएर प्रतिष्ठानमै गएर माफी मागिन्, भने १२जना भित्र परेकी गायिका रिया खड्काले उल्टै लोकदोहोरी प्रतिष्ठानलाई तपाईंकै उपाध्यक्ष खुमन अधिकारी लगायत ,शिव हमाल,प्रकाश सपूत प्रिती आले र पूर्णकला बिसीलाइ कार्बाही गर्नुस्
तपाईं अग्रजहरुबाट त हामीले सिकेका हौं भन्दै खुल्ला पत्र लेखिन्। उक्त १२जना भित्रै परेकी नबिना सिलवाल खुईलीले भने पहिलेको चेतावनीको धज्जी उडाउँदै हाल सालै

नौ महिनामा घोर्लै छोरो पाई दिन्छु
बालेन शाह जस्तो पाए पोईला गईदिन्छु

भन्ने शब्द को गीत सार्वजनिक गरिन् । बिगतमा पनि यस्तो अवस्था आएको थियो,प्रतिष्ठानको जिम्मेवारी विज्ञप्ती निकाले पछि सकिन्थ्यो ,बिगतलाई हेर्दा हालको अध्यक्ष रिता थापा मगरको कदम गीत संगीतको विकृती रोक्न अघि बढिरहेको छ , तर स्थापित कलाकारहरू तर्फ नै औंला तेर्सिएपछी उनको पनि केही लाग्ने अबस्था भने देखिदैँन ,फेरि विकृतीको नियमन गर्नै निकाय वा ठोस कानून नभएको अवस्थामा कलाकारहरू प्रतिष्ठानसँग किन डराउँथे ?

पाण्डबहरूले जुवामा आफू लगायत श्रीमती द्रौपदी समेत हारी सकेपछी ,धृतराष्ट्रको दरबारमा द्रौपदीको चिरहरण हुँदा गुरु द्रोर्णचार्य ,भीष्म पितामह ,तथा सधैं सत्यको पक्ष लिने दानवीर कर्ण लगायत भरि शभा मुकदर्शक भएर हेरिरहेका थिए , अन्तमा भगवान् श्री कृष्ण आएर द्रौपदीको सारी थामीदिए जस्तै नेपाली लोक संगीतको चिरहरण संगीतकै अग्रज तथा मुर्धन्य कलाकारहरूबाट हुँदा द्रौपदीको सारी श्री कृष्णले थामी दिए जस्तै नेपाली संगीतको अस्तित्व कस्ले थामी दिने ?

परम्परा अनुसार वर्ष दिनभरिको घरको पिडा ,तिज आएपछी तिजको गीत मार्फत पोख्ने चलन थियो माईती र चेली बिचको रोदन पोख्ने,श्रीमान् र सासू ससुराबाट पाएको दुखस्पोख्ने तिजमा चेलीलाई लिन माईती नआउँदा मन दुखेको पिडा पोख्ने,तथा विविध कारण बस घरबाट माईत जान नपाएको पिडा गीतबाट पोख्ने तिज गीतको मौलिक मर्म हो,आज भोलि संस्कार ,संस्कृत तथा मौलिकताको रक्षार्थ नभई पूर्ण रुपमा व्यापारी करणको हिसाबले, पश्चिमा संस्कृत संस्कारबाट प्रभावित भई भाईरल हुने लोभमा कलाकारहरू नाङ्गिएका पाईन्छन् ।

यसरी मौलिकताको साटो विकृत संस्कृत भित्रिँदै गएमा भोलि हामीले हाम्रो सन्ततिहरूलाई पुस्तान्तरणमा हस्तान्तरण के गर्ने ।हामी सबैले सोच्नु पर्नै अवस्था आएको छ ।
भोलिको दिनमा हाम्रो मौलिक तिज गीत तथा लोक संगीतलाई बचाई राख्नको लागि सरकारले कुनै नियमन निकाय स्थापना गरेर ,शब्दको सेन्सर पछि मात्र गीत रेकर्ड गर्ने र सुटिङ भैसकेको भिडियोलाई सेन्सर पास गरेरमात्र बजारमा पठाउने व्यवस्था गर्न अति आबश्यक भईसकेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर