मिडियाबाजी डटकम काठमाडौं ,फागुन ३ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत उद्घाटन खेलमा घरेलु टोली नेपालले हार व्यहोरेको छ । बिहीवार भएको खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गनै सफल भयो । नामिबियाका लागि जेन ग्रिनले सर्वाधिक ३४रन जोडे । साथै जान निकोल लोफ्टिइटनले ३१ रन जोडे । ओपनर माइकल भान लिंगेन २३ रनमा आउट हुँदा निको डाभीनले १५ रन जोडे । जेजे स्मिथ १७ रनमा नटआउट रहे ।
बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । औसतमा नेपालको बलिङ राम्रै रहेपनि न्यून स्कोरको लक्ष्यका कारण नेपाल चुक्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४।१ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटिएको थियो । यो घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलमा नेपालले बनाएको अहिलेसम्मकै न्यून स्कोर हो । नेपालले घरेलु मैदानमा पहिलो पटक १५० रन पनि कटाउन नसकेको हो। यसअघि घरेलु मैदानमा नेपालको न्यून स्कोर १७९ रन थियो ।
नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलयता एक दिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हारेको थिएन । तर, उक्त यात्रामा आज पूर्णविराम लागेको छ । अन्तिम पटक सन् २०२२ को नोभेम्बरमा यूएईसँग पराजित भएको थियो ।
घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि नेपालमा सुरु भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।