मिडियाबाजी डटकम काठमाडौँ ,साउन २९ । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ।
जलविद्युत, सौर्य लगायतका ऊर्जाका विभिन्न स्रोतहरूबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ।
नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष (आव) २०८०-८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार पाँच सय सात सर्किट किलोमिटर पुगेको हो।
कुल प्रसारण लाइनमध्ये सबैभन्दा बढी १३२ केभी चार हजार एक सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी पाँच सय १४ सर्किट किलोमिटर छ। ४०० केभी प्रसारण लाइन ६ सय ४४ सर्किट किलोमिटर छ। आव २०७२-७३सम्ममा दुई हजार नौ सय ११ सर्किट किलोमिटर मात्र प्रसारण लाइन थियो।
आव २०७३-७४ मा तीन हजार तीन सय ६४,आव २०७४-७५ मा तीन हजार पाँच सय ३८, २०७५-७६मा तीन हजार नौ सय ९० र आव २०७६-७७मा चार हजार दुई सय ६९ सर्किट किलोमिटर प्रसारण लाइन थियो। त्यस्तै,२०७७-७८मा चार हजार आठ सय ७४, २०७८-७९मा पाँच हजार तीन सय २९ र २०७९-८०मा पाँच हजार सात सय ४२ सर्किट किलोमिटर प्रसारण लाइन थियो।
ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभिए पुगेको छ। आव २०७२-७३मा दुई हजार दुई सय २३ एमभिए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो।
यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसनहरू छन्। प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन्। प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायबाट सहुलितपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी भइरहेको छ।