स्नातक पढ्ने विद्यार्थीलाई रुबी भ्याली गाउँपालिकाले शुल्क तिरिदिने

  फागुन ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, फागुन १।धादिङ सेर्तुङ । रुबी भ्याली गाउँपालिकाले निलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने पालिकाभरीका सम्पूर्ण विद्यार्थीको शुल्क तिरिदिने भएको छ ।


विभिन्न विषयकाे संकायमा भर्ना हुने सबै विद्यार्थीको शुल्क पालिकाले तिरिदिने भएको हो ।
निलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने पालिकाभरीका सबै विद्यार्थीलाई नि:शुल्क व्यवस्था मिलाइएको पालिका प्रमुख रामसिंह तामाङले बताए । ‘कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्नेमा हामी सजग छौँ,’ पालिका प्रमुख रामसिंह तामाङले भने, ‘त्यसैले क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क पालिकाले तिर्ने निर्णय गरेका छौँ ।’
२६ माघमा बसेको १४औं हिउँदे अधिवेशन गाउँ कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

पालिका प्रमुख तामाङले अहिले यस शैक्षिक सत्रका लागि मात्र यस्तो व्यवस्था गरिएको जानकारी दिए । ‘विद्यार्थीको संख्या हेरेर आगामी आर्थिक वर्ष पनि निःशुल्क अध्यपन कार्यक्रमलाई निरन्तरता दिने–नदिने निर्धारण गरिनेछ,’ उनले भने, ‘नीतिगत निर्णय गरेर गाउँपालिकाको कार्यक्रमकै रूपमा पनि कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन सकिनेछ, तर अहिले नै त्यसको टुंगो भने लगाइएको छैन ।’
त्यस्तै पालिकाले धादिङबेशी स्थित धादिङ अस्पताल संगको सहकार्यमा पालिकाका जनतालाई स्थानीय स्वास्थ चौकीमा उपचार हुन नसकेका बिरामीलाई पाँच हजारसम्मको उपचार नि:शुल्क गराउने तयारी समेत गरेको पालिका प्रमुख तामाङले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर