मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २६ । दसैंतिहार तथा छठ पर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेदेखि खुल्ने भएको छ । सरकारी दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन एसटीसीले यस पटकको दसैंतिहार लक्षित सुपथ मूल्य पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेका हुन् ।
काठमाडौं उपत्यका भित्रका १० वटा बिक्री केन्द्रका अतिरिक्त थप १० स्थानमा बिक्री केन्द्र स्थापना गरी साल्ट ट्रेडिङले कूल २० वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको विभागिय प्रबन्धक ब्रजेश कुमार झाले कर्पोरेट नेपालसँग बताए ।
काठमाडौं, भक्तपुर र ललितपुरमा साल्टको यसअघि नै रहेका बिक्री कक्षहरु बाहेक बालाजु र कपनमा नयाँ बिक्री कक्ष स्थापना गरिसकिएको उनले जानकारी दिए । यस्तै सिफलमा गत वर्ष नयाँ बिक्री कक्ष स्थापना गरिएको थियो । काठमाडौं उपत्यका बाहिर भने साल्टको देशै भरीको डिलर तथा बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गरिने उनको भनाइ छ ।