सवारी अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने

  भदौ २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २३ ।  सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ । तत्काल स्मार्ट कार्ड दिन नसक्ने भएपछि सरकारले रसिदमै फोटो आउने गरी कार्ड दिन लागेको हो ।

यस्तै ट्राफिक प्रहरीलाई क्यूआर कोड पढ्ने मेसिन उपलब्ध गराइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएकाले तत्काल समस्या समाधानका लागि नयाँ उपाय अबलम्बन गरिएको बताए ।

ट्रायल पास गरेका १५ लाख सेवाग्राहीले अझै स्मार्ट कार्ड पाउन सकेका छैन । यातायात व्यवस्था विभागको मेसिनले अहिले खरिद गरेका नयाँ कार्ड रिड गर्न नसकेपछि नयाँ विकल्प खोजिएको हो । त्यस्तै संघीय सरकारले अत्यावश्यक बाहेक अन्य कार्ड प्रदेशबाटै छाप्न आग्रह समेत गरेको छ ।

समस्या समाधानका लागि संघीय सरकारका भौतिकमन्त्री संयोजक रहेको कमिटीसमेत गठन गरिएको छ । बागमती प्रदेश सरकारले कार्ड आफैं छाप्ने बताएपछि अन्य प्रदेशले तयारी गरेको जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर