मिडियाबाजी डटकम काठमाडौं ,फागुन २५ । महाशिवरात्री पर्व प्रत्येक वर्ष सनातन धर्म (चलिआएको -पुरानो धर्म ) मान्नेहरुले मनाउँदै आएको रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ ।
त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन शिवको ज्योतिर्लिंग पनि उत्पत्ति भएको दिन मानिन्छ । फाल्गुन महिनामा न प्रचण्ड गर्मी, न दर्के झरीमा नै भिज्नुपर्ने, न हिलो खेल्नुपर्ने, न धूलो नै झेल्नु पर्ने, यतिबेला नै हो मनलाई धर्म, दर्शन, भक्ति र आध्यात्मिक भावमा लगाउनुपर्ने, किनभने भोग-विलासबाट मुक्त भएर आध्यात्मिक चिन्तन गर्ने बेला हो यो । सृष्टि र प्रकृतिको महत्वलाई पनि बोध गर्ने बेला हो यो फाल्गुण महिना ।
शिवरात्रीलाई भगवान शिवको प्यारो रात्रीका रूपमा पनि लिइन्छ । यसै दिन भगवान शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको पाइन्छ र यस दिनलाई भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रुपमा पनि लिइने गरिन्छ । पौराणिक कथाअनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी यस संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले विषले जलेर उहाँको घाँटी निलो भएका कारण भगवान शिवलाई निलकण्ठ पनि भनिन्छ । यसै कारण रुद्री गर्दा शिवजीको पूजा गरिसकेछि जलधारा गराईन्छ ।
यो संसार तीन तत्व(शक्ति)ले चलायमान छ । ती हुन् → ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्ति संसारमा जति पनि प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन् ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालन (पोषित) हुने काम हामी पालन शक्तिका माध्यमले गर्दछौँ । त्यस्तै समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो । ब्रह्मशक्तिका देवता ब्रह्मा हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् भने संहार वा विनाश शक्तिका देवता शिव हुन् ।
शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्ने पनि भगवान् हुन सक्छ ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ र ? संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ ।
दिन रात, असल, खराब, कीट, मनुष्य, पशु, वनस्पति सबै भगवद शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा हुनुहुन्छ भने मृत्युमा पनि हुनुहुन्छ, सिर्जनामा हुनुहुन्छ र विनाशमा पनि हुनुहुन्छ ।
संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? यदि मृत्यु हुँदैनथ्यो भने यो जीवनको के नै महत्व हुन्थ्यो होला र ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्यकता हो, र विनाश पनि एउटा विशुद्ध शक्ति हो ।
कुनै पनि कुरा समाप्त गर्न शक्ति चाहिन्छ, साहस र हिम्मत चाहिन्छ । संसारका सबै कामहरू विनाशक्ति सम्पन्न हुन सक्दैनन् । यदि सबै क्रियाका लागि शक्तिको आवश्यकता हुन्छ भने संहारका लागि पनि शक्ति चाहिन्छ । त्यसैले, संहारशक्तिका रूपमा भगवान् शिव पूज्य र बन्दनीय हुनुभएको हो । भगवानका अगाडि सबै दोष, पीडा, भय, असुरक्षा, तनाव र विसङ्गतिहरू पनि कमजोर हुन्छन् ।
ती सम्पूर्ण नराम्रा शक्तिको प्रभावबाट मुक्त रहन सक्ने क्षमता भएर नै भगवान् शिव कल्याणका देवता मान्न सकिएको हो । शरीरमा खरानी घसेर बस्नु अर्थात् शिवजस्तो हुनु भनेको सान्सारिक सुखबाट टाढा बस्नु भन्ने सन्देशलाई बुझ्न सकिन्छ । त्यस्तै भांग, धतुरो आदि सेबन गर्नु भनेको केही समयका लागि भए पनि तनाबबाट मुक्त हुनु पर्छ भन्ने अर्थमा हो ।
बाघको छाला ओढ्नु र सर्पको माला लगाउनु भनेको पर्यावरणअनुसार बाँच्न सिक्नु पर्छ, प्रकृतिमा जे मिल्छ त्यसैमा आनन्द लिन सक्नु पर्छ भन्ने हो । शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतीक मानिएको छ ।
त्यस्तै, शिवजीको आकृतिमा समानान्तर तीन वटा आँखा हुन्छन् । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतीक मानिन्छ । त्रिशुलको तीनवटा शूलले उदय, संरक्षण र विनाशको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । सर्प देख्दा हामी सबैलाई डर लाग्छ तर सर्प यस्तो जनावर हो जुन नहुने हो भने वातावरणमा आउने जति पनि विषाक्त कुराहरु छन् ती सर्पहरुले मात्र धारण गर्न सक्छन् ।
शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ । शिवको परिवारमा चार जना छन् र ती चार जनाका छुट्टाछुट्टै बाहनसहित आठ जनाको परिवार मिलेर बसेको देखिन्छ । सर्प, मुसा, बाघ, मयुर र साँढेलाई पनि एउटै परिवारभित्र मिलाएर राख्न सक्ने शिवजीलाई देवाधिदेव शक्तिशाली महादेवको रुपमा मानिन्छ ।
भगवान शिवसँग सम्बन्धित पौराणिक कथाहरुमा लिंग पुराणका अनुसार पार्वतीले शिवजीसँग तपाइको लागि सबैभन्दा उत्तम ब्रत बताउनु होस् भनी सोध्दा समस्त दान, यज्ञ, तपस्या, ब्रत आदिले प्राप्त नहुने पुण्य केवल शिवरात्रीको ब्रतले प्राप्त हुन्छ भनी शिवजीले भन्नुभएको सोही कथा जम्बुद्वीपको इच्क्ष्वाकु वंशका राजा चित्रभानुको कथा उल्लेख हुन आउँछ ।
उनी यसै दिन उपवास बसी भगवान शिवको आराधना गर्दै थिए । त्यही अवसरमा अष्टावक्र नाम गरेका एक ऋषि आई उपवास बस्नुको अर्थ सोधे । राजाले उनलाई आफ्नो पूर्व जन्मको बारेमा बताए र त्यसअनुसार उनी पूर्वजन्ममा सिमान्त देशमा एक शिकारी(ब्याधा) थिए । उनी चराचुरुङ्गी तथा जनावरहरुको शिकार गर्दथे ।
एकदिन उनको साहुसँग भेट भयो र ऋण नतिरेकोले साहुले उनलाई शिवको मन्दिरमा लगी दिनभर भोकै राखेर साँझपख छाडिदिए । त्यसपछि उनी शिकारको लागि जंगलमा गए र जलको नजिकै बेलको झाडीमा लुकेर बसे, जब हरिण पानी खान आउनेछ अनि मार्नेछु भन्ने तवरले उनले पर्खिरहेका थिए । जुन बेला एक हरिणलाई देखे र मार्न तयार भए तर झाडीले छेकेको हुनाले पात टिपेर मिल्काए जहाँ शिवलिंग थियो तर उनलाई थाहा भएन । जब हरिणीलाई हान्न खोजे हरिणीले पनि आफ्नो पूर्वजन्मको कथा सबै बताई र आफू स्वर्गकी अप्सरा हुँदा हिरण्याक्षसँग प्रेम बसेकाले पछि शंकरजीले थाहा पाई आफू र आफ्नो श्रीमानलाई हरिण र हरिणी हुनु परोस् भनी श्राप परी आफ्नो सो अवस्था भएको बताई ।
आफू घर पुगेर बालबच्चा भेटी फर्कने बाचा गरी, शिकारीले पनि हरिणीको परिवार कष्टमा परेको देखि नमारिकन आउने सर्तमा छोडिदिए । यो क्रम रातभर तीन पटकसम्म दोहोरियो । उक्त दिन उनी दिनभर भोकै थिए राति पनि उनी भोक प्यासले गर्दा रातभरी निदाउन सकेनन् तथा आफ्ना पत्नि तथा बालबच्चाहरु भोकै भएकाले उनले केही ल्याउला भनेर पर्खेर बसेका होलान् भन्दै सौंच्दै रहे ।
उक्त दिन शिवरात्रीको दिन थियो, जो उनलाई थाहा थिएन । बेलको पात टिप्दै फाल्दै गरेकाले बेलपत्रले शिवलिङ्ग ढाकियो तर उनले चाल पाएनन् । भोलिपल्ट उनी रित्तै घरमा गए, हरिण हरिणीहरु सबै आए तर उनले कसैलाई पनि मारेनन् किनकि उनमा नजानीकनै गरेको भए पनि ब्रतको प्रभाव परिसकेको थियो । उनको मृत्युपश्चात् भगवान शिवका दूतहरुले उनलाई कैलाशमा लिएर गए ।
उनले पहिलोपल्ट थाहा पाए कि उनले अन्जानमा भगवानको निराहार ब्रत र रातभरको जाग्राम गरेको रहेछु भनेर । त्यहाँ यमराजका दूतहरु पनि आएका थिए । आत्मा लिएर जाने बारेमा दुबै पक्षबीच ठूलो लडाईँ भयो तर ती दूतहरुले उनलाई सो रुखको फेदमा शिव लिंग भएको र उनले खसालेको सबै बेलपत्र शिवलिंग माथि परेको सुनाए । र अन्तमा शिवदूतहरुले सो आत्मा लिएर गए ।
यमदूतहरुले सो घटनाबारे यमराजलाई जानकारी गराए । यमराज तुरुन्त कैलाश पर्बत पुगे । नन्दीले उनलाई महाशिवरात्रीको महत्व तथा सो मृतआत्माप्रति भगवान शिवको प्रेमबारे सुनाए । यमराजले आफ्नो गल्ती स्वीकार गरे र अब आइन्दा भगवान शिवको कुनै पनि भक्तमाथि भगवानको आज्ञा विना हस्तक्षेप नगर्ने भनी फर्के । यसप्रकार सो शिकारी शिवको गणको रुपमा रहन सके केवल उपबास सहित अन्जानमा शिव लिंगमा बेल पत्र चढाएको कारण किनकि त्यसदिन महाशिवरात्री थियो ।
यसरी महाशिवरात्रीको महत्व तथा विशेषताबारे भगवान शिवको उक्त भनाइमा पार्बती अत्यन्त प्रभावित हुनु भयो र उहाँले यसबारे सबैलाई बताउनु भयो । यसप्रकार उनले अन्जानमा भगवान शिवको लिंगमा पूजा गरेको हुनाले उनी शिवका भक्त भएर रहे । अन्जानमै गर्दा पनि यति ठूलो फल मिल्छ भने यदि जानेर गरियो भने हामीलाई कति ठूलो फल मिल्छ होला ।
शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवको सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र तथा अन्य फलफूलहरु हुन्, जुन सबै शिव लिंगमा चढाइन्छ ।
त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, घ्यू तथा महले भगवान शिवलाई स्नान गराइन्छ । शिव भगवान भनेको संहार कर्ता पनि हो जसलाई हामी व्यवस्थापक मान्न सक्छौँ, हाम्रो शरीरमा भएका नकारात्मक सोँच विचारहरुलाई त्यागेर एक दिन मात्र भए पनि हामीले यो ब्रत गर्यौँ भने हामी दीर्घायु हुन सक्छौँ ।
नेपालमा पशुपति क्षेत्रमा यस दिन भव्य मेला लाग्छ भने सोही दिन नेपाल आर्मीले पनि टुँडिखेलमा आफ्नो कुशलता/दक्षता अभय रुपमा प्रदर्शन गर्ने परम्परा छ । विभिन्न मन्दिर शिवालयहरुमा पनि भव्य मेला लागिरहेको हुन्छ । विदेशमा पनि विभिन्न मन्दिर तथा देवालयहरु दिनभर खुला गरी उत्साहपूर्ण तरिकाले शिवरात्रीको मेला लगाउँछन् ।
महाशिवरात्रीको दिन परम्पराअनुसार सबै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवानको शिवलिंगमा चढाउँछन् तथा भगवान विष्णु र सूर्यको पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध, दही, घ्यू, मह, सक्खर पनि चढाउँछन । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भन्ने मान्यता छ ।
१) भगवान शिवको लिंगमा शुद्ध जल, दूध, दही, घ्यू, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।
२) भगवान शिवपार्वतीलाई सिन्दूर टीका चढाउनु भनेको सद्गुण वृद्धि गर्नु हो ।
३) विभिन्न प्रकारका फलफूल चढाउनु भनेको दीर्घ आयु तथा आफ्ना इच्छा पूरा गर्नु हो ।
४) धूप बाल्नु भनेको सम्पति बृद्धि हुनु हो ।
५) दीप बाल्नाले ज्ञानको वृद्धि हुन्छ ।
६) बेलपत्र चढाउनाले सांसारिक सुखभोग प्राप्त गर्न सकिन्छ र तीनजन्म सम्मको पाप कार्यबाट पनि मुक्ति मिल्दछ ।
शिवरात्रीको पूजा फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । नेपालमा यसलाई जुन जुन तरिकाले मनाए पनि विदेशमा यसलाई महत्वपूर्ण ब्रत तथा पर्वका रुपमा लिन सकिन्छ । सबैले यसलाई हर्षोल्लासका साथै ब्रतको रुपमा मनाऔँ