मिडियाबाजी डटकम काठमाडौँ, श्रावण २१ । सिरहाका एक जना सरकारी अधिकारीले घुस र कमिसन वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका छन् । औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन दर्जनौ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि कमिसन वापतको रकम पहिले नै उनको बैंक खातामा जम्मा गर्न लगाएर मात्र भुक्तानीको चेकमा हस्ताक्षर गरिदिएका छन् ।
आर्थिक वर्षको अन्त्य गत असार २५ गतेदेखि साउनको ८ गतेसम्ममा प्रमुख प्रशासकीय अधिकृत झाको विभिन्न बैंक खातामा कमिसन र घुसको १० लाख भन्दा माथि रकम जम्मा भएको छ । लगभग १० लाख जति उनले नगदै पनि बुझिलिएका छन् ।
औरही पालिकामा कार्यरत वन व्यवस्थापन अधिकृत सुशिल यादवसँग प्रमुख प्रशासकीय अधिकृत झाले २१ हजार कमिसन लिए । वन अधिकृत यादव भन्छन,“समृद्धिको लागि वन परियोजना इकाईमा म कार्यरत छु । जनतालाई भुक्तानी नदिंदा मेरो खप्पर फुटाउने र कमिसन नदिए हाकिम झाले चेकमा हस्ताक्षर नगरिदिने । ८८ हजारको चेक लिन बाध्य भएर नगद १५ हजार दिएँ तर उनले मानेनन् । २१ हजार लिएरै छाडे । मेरो बैंक खाताबाट उनको खातामा ६ हजार ट्रान्सफर गरिदिएँ पछि बल्ल चेकमा सही गरिदिए । उनले भने गत साउन ७ गते राष्ट्रिय वाणिज्य बैंकमा रहेको मेरो खाताबाट उनको सिद्धार्थ बैंकमा रहेको खाता नं. ×××××१८३८०९ मा ६ हजार रकम पठाएँ । ”
वन अधिकृत यादव भन्छन् , “मेरो भत्तावापतको रकमको पनि चेक काटिएको थियो । तर त्यो चेकमा सही गर्न ५० प्रतिशत कमिसन मागेपछि मैले दिन मानिन् । प्रमुख प्रशासकीय अधिकृत झाले चेकमा सही गरिदिएनन् । मेरो भत्ता डुब्यो । ” यादवले भने, ओभरसियर मनोज कुमार यादवले त नगद १ लाख बुझाए पछि उनको सुपरभिजनमा रहेका योजनाहरुको भुक्तानी चेकमा हस्ताक्षर गरिदिए । यादव भन्छन् , म अख्तियारमा गएर पनि यति कुरा वयान दिन तयार छु । कारवाहीमा परे पनि सहन्छु । उनले थपे घुस लिन्या मात्र देशको शत्रु हो । घुस दिन्या त विवश जनता हुन् ।
औरहीकै प्रताप कुमार यादवले रातको १ बजे ९८××७०२४९५ नं.बाट ईसेवामार्फत रुपैयाँ १२ हजार झाको ईसेवामा रकम हस्तान्तरण गरेपछि उनको चेकमा हस्ताक्षर गरियो । रमानन्द यादवले पाउने भुक्तानीको ५ वटा चेक काटिएको थियो । उनले कमिसन नदिने भनेपछि प्रमुख प्रशासकीय अधिकृत झाले उनकै अगाडि ५ वटै चेक च्यात्तचुत्त पारेर फालिदिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत झालाई कमिसन बुझाउनेहरुमा सव इन्जिनियर आनन्द यादव , इन्जिनियर दीपेन्द्र यादव, सव इन्जिनियर बीरेन्द्र कुमार सिंह, इन्जिनियर सुरेन्द्र कुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव पनि छन् ।
उनीहरुले न्युनतम ५१ हजारदेखि ३ लाखसम्म प्रमुख प्रशासकीय अधिकृत झाको बैंक खातामा रकम जम्मा गरिदिएका हुन् । इन्जिनियरहरुले आ–आफ्नो जिम्मामा रहेको साइटका उपभोक्ता समितिबाट घुस र कमिसनको रकम उठाएर झालाई बुझाएका हुन् ।
जो जसको भुक्तानी लिनु पर्ने थियो उनीहरु सबै कमिसन रकम बोकेर जनकपुर जानु परेको र उनले त्यहाँ पालिकाले भाडा तिर्ने गरी गोप्य रुपमा खडा गरेकोे सेटलाइट कार्यालयमा बसेर कमिसन बुझ्दै चेक दिंदै गरेका थिए ।
सिरहा क्याम्पसका स्ववियु सभापति दीपेन्द्र कुमार यादव भन्छन् , “पालिका अध्यक्ष यादव र लेखापाल यादवले प्रमुख प्रशासकीय अधिकृत झालाई छल्न खोजेका थिए । तर चलाख झालाई कागताली प¥यो । झाले दुबै जनालाई थाङ्ना सुताए । अध्यक्ष यादव र लेखापाल यादव झाको अगाडि जुठो लोटाएको गोबर झैं भए । जनकपुर बसेर सम्पूर्ण कमिसन रकम असुले पछि एक दिन अचानक पालिकामा आएर हतार हतार हाजिरी गरेर फेरि जनकपुर गए । झा अझैसम्म फर्केर पालिका आएका छैनन् । सायद उनी आउँदैनन् पनि । ”
घटना विवरण अनुसार गत असार २४ गते राति औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र लेखापाल देवेन्द्र यादव पालिका भवन छोडेर सदरमुकामस्थित कुनै अज्ञात स्थलमा बसेर चेक काट्न थाले । पालिका अध्यक्ष र लेखापालले दुबै जनाले मोवाइलको स्वीच अफ गरिदिए । प्रमुख प्रशासकीय अधिकृत झाले उनीहरु दुबै जनासँग सम्पर्क गर्न खोजे तर असार २५ गते दिउँसो मात्र सम्पर्क हुनसक्यो । आफूलाई थाहै नदिई अज्ञात स्थलमा गएर अध्यक्ष र लेखापालले मनमौजी भुक्तानीको चेक काटेको भन्दै प्रमुख प्रशासकीय अधिकृत झा रिसाएर जनकपुरस्थित आफ्नो घर गएर बसिदिए ।