त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले ओमानलाई ५६ रनले हरायो

  असोज १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज १७ ।  त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो । ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए । नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

नेपालको जीतमा कप्तान रोहित पौडेलले ५६ रनको अविजित अर्धशतकीय इनिङ खेले । ओमानका फयाज बटले ३ विकेट लिए । नेपाल पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल क्यानडासँग ४ विकेटले हार्न पुगेको थियो ।

नेपाल ४ खेलमा २ मा जीत र १ मा हारसहित ४ अङ्कका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जीत र १ मा हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा । क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो । ओमान १ मा जीत र २ मा हारसहित २ अङ्कका साथ पुछारमा छ ।

क्यानडामा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलापछि घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच टी–२० श्रृङ्खला भएको हो । श्रृङ्खलाको अन्तिम खेलमा आज क्यानडा र ओमान खेल्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर