मिडियाबाजी डटकम काठमाडौँ , असोज १७ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए ।
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको आज सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो ।
प्रवक्ता चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुनेछ ।