मिडियाबाजी डटकम काठमाडौं ,फागुन २० । काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसनले आज प्रदर्शन गरेको छ । कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महानगरपालिकाका मेयर बालेन्द्र बालेन शाहको कार्यालय राष्ट्रिय सभा गृह अगाडि विरोध र्याली निकालेका हुन् ।
र्यालीमा सहभागीहरुले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’ जस्ता नारा लगाएका थिए । केही दिनअघि काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि नगर प्रहरीले आक्रमण गरेर केहीलाई गम्भीर घाइते बनाएका थिए ।
सरकारी निकायमा दर्ता भएर कर समेत तिरिरहेका व्यवसायमाथि दमन गरिएको भन्दै मेयर बालेन्द्रविरुद्ध नाराबाजी भएको हो । आइतबारको झरीबीच काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।