मिडियाबाजी डटकम काठमाडौँ,साउन १८ । फ्राइडे रिलिज अन्तर्गत आज साउन १८ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘मोदीबेनी’ तथा ‘शिरफूल’ प्रदर्शनमा आएका छन् ।
शंकर कोइरालाको निर्देशनमा बनेको फिल्म ‘मोदीबेनी’ को गत बुधवार आयोजित प्रीमियर शोमा अधिकांश दर्शकले फिल्मले उठाएको विषयवस्तु तथा मेकिङको चर्चा गरेका छन् । यो फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई आदि कलाकारले अभिनय गरेका छन् । मोदीबेनीलाई देशका अधिकांश सिनेमा हलले राम्रो शो उपलब्ध गराएका छन् । प्रीमियर शोमा यो फिल्मले पाएको प्रशंसासंगै आजदेखि सिनेमा हलमा दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।
यसअघि असारमै प्रदर्शनमा आउन तयार भएको फिल्म ‘शिरफूल’ कमल एक्चै मगरद्वारा निर्देशित फिल्म हो । आदिवासी जनजाति महिलाहरूले लगाउने एक प्रकारको सुनको गहनालाई शिरफूल भनिन्छ । नारीले शिरमा लाउने, फूलका आकार हुने भएकाले यसलाई शिरफूल भनिएको हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन छ । यो फिल्मले पनि छोरीलाई बिम्बको रूपमा बुझाउन खोजेको निर्देशक मगरको भनाइ छ ।
यो फिल्ममा आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ । यो फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगर आदि कलाकारले अभिनय गरेका छन् । यो फिल्ममा अभिनेत्री मरिष्का पोखरेलको विशेष भूमिका छ ।