थापालाई भेट्न गएको विषयलाई राजनीतिकरण गरेको भन्दै आपत्ति !

  माघ १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,माघ १९। राष्ट्रपतिका सल्लाहकार एवं पूर्वमन्त्री सुनिलबहादुर थापाको परिवारले काका अजित नारायण सिंह थापालाई भेट्न गएको विषयलाई राजनीतिकरण गरेको भन्दै आपत्ति जनाएको छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका काकाका छोरा अजित नारायण सिंह थापालाई बाँसबारी जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेपछि सुनिल उनको बारेमा बुझ्न गएका थिए ।तर त्यसबेला उनलाई म्याद थपका लागि अदालत लगिएकाले उनी नभेटी फर्किएका थिए । थापाले आफू अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले नभई काकाको उमेरका भेट्नका लागि गएको विषयलाई अतिरन्जित नगर्न आग्रह गरेका छन् । अजित नारायण सिंह थापा पूर्वमन्त्री तथा परराष्ट्रविद डा.भेषवहादुर थापाका सम्धी तथा कनकमणी दीक्षितका मामा ससुरा समेत हुन् ।

काठमाडौँको बत्तिसपुतली घर भएका अजित नारायण सिंह थापा नेपाल औधोगिक इन्डष्ट्रियल कर्पोरेशन, बाँसबारी छालाजुत्ता तथा च्याम्पिय फुटवेयर लिमिटेडका पूर्व अध्यक्ष हुन् । जग्गा चौधरी ग्रुपलाई सुम्पिनुमा उनको मुख्य हात देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।जग्गा हिनामिना गरेर चौधरी ग्रुपले आफ्नो बनाएको भन्दै काठमाडौँ–३ का वडा अध्यक्षसहित ४८ जना स्थानीयले सीआईबीमा उजुरी गरेका छन् ।सरकारबाट हडपेर ल्याएको जग्गामा चाँदबाग स्कुल सञ्चालन गरिएको छ । स्कुलका मुख्य संचालक सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी हुन् ।

अजित कांग्रेस धनकुटाका महासमिति सदस्य पनि हुन् । थापाले बयोबृद्ध उमेरका काकालाई भेट्न गएको विषयलाई अतिरन्जित गरिएकोमा दुःख व्यक्त गर्दै सरकारले गर्ने छानविन र अनुसन्धानमा आफूहरुको कुनै विमति नरहेको बताएका छन् ।८२ वर्षीय थापाको उमेर र स्वास्थ्य तथा उनीबाट प्रमाण नष्ट हुने कुनै अवस्था समेत नभएकोले हिरासतबाहिर राखेर बयान लिन उनका वकिलले जिकिर समेत गरेका छन् ।चौधरी ग्रुपले ‘किर्ते गरेर सरकारी जग्गा हिनामिन गरेको र सरकारलाई ठगेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले ४ दिनको म्याद लिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर