बंगलादेशसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

  मङि्सर १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १६ । युएईमा जारी यु १९ एसिया कपमा बंगलादेशविरुद्धको खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतवार लगातार दोस्रो खेलमा पराजित नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८।४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका लागि ओपनर जबार अबाररले सवौधिक ५९ रन बनाए । उनले ६५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । अर्का ओपनर कलिम एलेन रनको खाता नै नखोली नेपाली कप्तान हेमन्त धामीको बलमा आउट भए ।

कप्तान मोहम्मद हाकिम तमिमले ७१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ५२ तथा मोहम्मद फरिदले ३१ बलमा १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले ४ तथा कप्तान हेमन्तले १ विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५।४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भएको थियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए ।

पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालको यो लगातार दोस्रो हार हो । भने, पहिलो खेलमा अफगानिस्तानमाथि जित हात पारेको बंगलादेशको यो लगातार दोस्रो जित हो । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।
एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । खेल ५० ओभरको हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर