सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

  माघ १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १७ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगबिहीन बन्न पुगेको छ । नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा चुनावी प्रचारका क्रममा यहाँ सर्पपालनको प्रतिबद्धता जनाएका थिए। लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा सर्पदंशबाट एक बालकको मृत्यु एपछि खनालले सोही समयमा प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेका थिए।

सर्पको टोकाइबाट घाइते बालकले समयमै भ्याक्सिन नपाउँदा मृत्यु भएको थियो । त्यसैले नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम एएसभी उत्पादन गर्न पहल सुरु गर्नका लागि प्रतिष्ठान स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा गरिएको थियो । एन्टिस्नेक भेनम उत्पादन आफैँमा महत्वपूर्ण भए पनि आफ्नै नाममा प्रतिष्ठान स्थापना गरेका भन्दै खनालको आलोचना पनि भयो । त्यसपछिका प्रतिष्ठानका काम पनि विवादमा तानिन थालेपछि करिब रू १९ करोड खर्च हुँदा पनि यसले मूर्तरुप लिन सकेको छैन । यति ठूलो रकम खर्च भइसक्दा पनि सर्पपालन कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन ।

विवाद बढ्दै गएपछि गत साउनमा संस्थाको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् बनाइएको परिषद्का अध्यक्ष रेवती पन्तले बताए। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रतिष्ठानलाई रू ७२ करोड दिने सम्झौता भएको थियो । त्यसपछि सबै रकम नेता खनालले लिए जस्तो गरी प्रचारप्रसार भएको थियो । “यथार्थ के हो भन्ने विषयमा धेरै मानिस प्रवेश नै गरेनन्, राम्रो कामका लागि खोलिएका संस्था भए पनि बदनामी धेरै भयो”, अध्यक्ष पन्तले भने, “अफवाह फैलिएपछि संस्थाको नाम परिवर्तन गर्नुप¥यो ।”

व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणको विरोधसँगै गर्न दातृ निकायले पनि नरुचाएको उनको भनाइ छ । उनका अनुसार अस्पताल निर्माणपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको छ । “भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको छ भने सर्पपालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएको उनको भनाइ छ । तर संस्था स्थापना भएको आठ वर्ष बितिसक्दा पनि विभिन्न कारणले न्यूनतम संरचना समेत निर्माण हुन सकेको अवस्था छैन ।

हालसम्म सरकारबाट प्राप्त भएको रकम डीपीआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको अध्यक्ष पन्तको भनाइ छ । लालबन्दी नगरपालिका– १ मा रू सात करोड खर्चेर परिषद्ले जग्गा खरिद गरेको छ । नन्देश्वर महादेव सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको करिब १० बिघा जमिन अहिले चरन क्षेत्रमा परिणत भएको छ । “कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले करिब १० बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका छौँ”, अध्यक्ष पन्तले भने, “जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइए पनि त्यो अपूरो छ  ।”

कुल २२ वटा भवन बनाउने योजना भए पनि चार वटा भवन निर्माण गर्न रू ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन । शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो । “कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा रू छ करोड खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएपछि हामीले रोकेका छौँ”, उनले भने ।

परिषद्ले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ । तर, बजेट अभावले काम अघि बढ्न नसकेको उनको भनाइ छ । प्रतिष्ठानको गुरुयोजनामा साढे तीन अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ । केपी शर्मा ओली नेतृत्वको सरकारले रु ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा केन्द्रले रू छ करोड बजेट पठाएको थियो । प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा हालसम्म प्राप्त भएको छैन । स्थानीय सरकारले समेत वार्षिक रू एक करोड दिने सम्झौता भए पनि लालबन्दी नगरपालिकाले सम्झौता अनुसारको रू पाँच करोड भुक्तानी भएको छैन । परिषद्मा हाल चार जना कर्मचारी छन् । उनीहरुको तलबमा मासिक रू डेढ लाख खर्च हुन्छ । कार्यालयको भाडा मासिक रू ५० हजार छ । नेपालमा सर्पको टोकाइबाट वार्षिक तीन हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

तपाईंको प्रतिक्रिया

थप खबर