मिडियाबाजी डटकम काठमाडौं,कार्तिक ११।आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौंको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन घटस्थापनामा जम्मा गरेको माटो र उमारेको जमरालाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।
आजको दिनको अर्को महत्त्व छ, आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राती पृथ्वी लोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जस जसले राती नसुतेर भगवान् लक्ष्मी माताको भजन भक्ति गरेर बसेका छन् उनीहरूलाई धनधान्यले कृपा दिने जनविश्वास रहिआएको पाइन्छ ।
अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको सुरुवाती सङ्केतका रूपमा पनि लिइन्छ । बिहानै सम्पूर्ण परिवारका सदस्यहरू भेला भएर दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाएर बाँकी जमरालाई सेलाउने चलन रहिआएको पाइन्छ ।
:-आज चन्द्रग्रहण लाग्दै:-
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त हुने समितिले जनाएको छ ।
बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ । यस्तै, एसिया, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि ग्रहण देखिनेछ ।
यो चन्द्रग्रहण यस वर्ष अर्थात् २०८० मा लाग्ने एउटै ग्रहण हो । गएको वर्ष कार्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्दछ ।