नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन

  बैशाख १५, २०८०

मिडियाबाजी डटकम काठमाडौं । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको छ ।

नियमित रुपमा लगाउनुपर्ने खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते र आउँदो ३१ गते खोप अभियान सञ्चालन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको  स्वास्थ्य  संस्थामा  गइ  खोप  लगाउन  पनि स्वास्थ्य मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर छिमेकमा कसैले  खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ ।

मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई बीसीजी, पोलियो, दादुरा–रुबेलालगायतका खोप दिने गरिएको छ । अभियान देशका ७७ वटै जिल्लामा चल्नेछ । सरकारको निर्णय अनुसार नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो । ललितपुरलाई २०७४ वैशाख १४ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । 

तपाईंको प्रतिक्रिया

थप खबर