मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १०। दसैँ लगत्तै नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ ।।
भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो । कालीमाटी बजारमा मात्रै औसतमा दैनिक ९० देखि एक सय टन प्याज भारतबाट आयात गरिन्छ । भारतमा प्याजको मूल्य वृद्धि भए लगत्तै बजारमा कालोबजारीसमेत हुन सक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलको अनुमान रहेको छ । ‘हाम्रो कालीमाटी बजारमा कालोबजारी हुँदैन,’ उनले भने, ‘अन्य स्थान र व्यापारीसँग स्टक रहेको प्याजमा कालोबजारी हुनसक्छ ।’ नेपाली बजार भारतीय बजारमा पूर्णरुपमा निर्भर छ ।’ उनले भने, ‘उताका वस्तुमा मूल्यवृद्धि हुँदा यता पनि भाउ बढ्छ नै ।’ भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ ।
नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर रहेको छ । नेपालीले उपभोग गर्ने प्याज ९० प्रतिशत भन्दा भारतबाट नै आयात हुन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले ३० हजार २ सय ७२ मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो । यस वापत् एक अर्ब नौ करोड ५८ लाख दुई हजार रुपैयाँ खर्च भएको थियो । भारतले केही समयअघि प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएसँगै नेपालमा प्याजको मूल्य ८० देखि ९० रुपैयाँ प्रतिकिलो पुगेको थियो ।
पुरानो मूल्यमा खरिद गरेको प्याज नयाँ मूल्यमा विक्री गर्न नदिन सरोकारवालाहरूले अनुगमनमा जोड दिनुपर्ने समेत निर्देशक पौडेलले बताए। ‘कालोबजारी हुन नदिन अनुगमन प्रभावकारी बनाउने दायित्व सम्बन्धित निकायको हो,’ उनले भने, ‘उपभोक्ता मर्कामा पर्नु अगावै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मन्त्रालयले व्यवस्थित तवरले अनुगमन गर्नुपर्छ ।’ उनले भने।