मिडियाबाजी डटकम काठमाडौं, बैशाख १४। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ।
हिजो (बुधबार) मात्रै महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रमहरू नगर्न विभिन्न भ्रातृ संगठनलाई निर्देशन दिएको थियो। त्यसैको विरोधमा विद्यार्थी संगठनले कार्यक्रम गर्न पाउनुपर्छ भन्दै विभागको संस्थागत विद्यालय शाखामा तालबन्दी गरेको महानगरका एक अधिकारीले जानकारी दिए। उनका अनुसार युनियनका पदाधिकारी आएर तालाबन्दी गरी गएका हुन्।
‘उहाँहरूले आफ्नो मागको पत्र विभागमा टाँसेर साथै विभागीय प्रमुखलाई समेत पत्र थमाएर जानुभएको छ,’ ती पदाधिकारीले भने, ‘आफ्नो माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने प्रमुखलाई बताउनुभएको छ।’संस्थागत विद्यालय शाखामा विद्यालयलगायतका शिक्षा क्षेत्रको विभिन्न काम हुने गरेको उनले बताए। यस्तै तालाबन्दी हुँदा नियमित हुने कामकारबाही समेत प्रभावित भएको उनको भनाइ छ।
संगठनले पटक-पटक महानगरपालिकालाई मौखिक र लिखित रूपमा शैक्षिक विकृति र शैक्षिक रूपान्तरणका विषयसहित माग पत्र पेस गर्दा पनि कुनै जवाफ नदिएको यूनियनका संयोजक मिमबहादुर एडिले बताए।’२०७९ पुस १९ र २०८० वैशाख १३ गते काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले निकालेको निर्देशन पत्र प्रति हाम्रो संगठनको गम्भीर आपत्ति छ। शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनविरूद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिवाद गर्न चाहन्छ,’ एडिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।