आशाको त्यान्द्रोमा अल्झेको नेपालको विकास

  जेठ १२, २०८०

©हरिप्रसाद खतिवडा

मिडियाबाजी डटकम काठमाडौं। नेपालीमा एउटा उखान छ नी”श्वास रहुन्जेल आस रहन्छ।”हो ,त्यही झिनो विकासको आशामा हामी नेपाली तड्पिएर बाँचिरहेका छौँ।

नेपाल आफैमा अरू केही नभएपनि सबैथोक परिपूर्ति गर्ने खालको अथाह सम्भावना रहेको प्राकृतिक सम्पदा एवम् सँस्कृतिले विकसित छ ।आजको विश्व वैज्ञानिक ढङ्गले दौडिरहेको बेला यस्ता प्राकृतिक स्रोत र संस्कृतिको बहु-उपयोग बिना विकास प्राय असम्भव जस्तै छ।किनकि विकास आफैंमा कुनै स्रोत साधनको भरपुर प्रयोगको नयाँपन सृजित उपज हो।कुनै बस्तुको यथास्थिति मार्फत विकास आशा गर्नु उही सत्ययुगको भ्रम विश्वास मात्र हो।किनकी सत्ययुग जस्तो तथास्तुमा सबैथोक प्राप्ति, यो कलियुगमा परिणाम सुन्य रहन्छ।

मानवको तत्कालीन जीवनस्तर सुधार भई ,उसका खानपान,लगाउने वस्त्र , बसोवास ,आवतजावतको सुविधा युक्त यात्रा एवम् चेतनाको अभिवृद्धिले विकासको झल्को दिन्छ।यी यावत् विषयको गुणस्तर बिना विकास मान्ने परिकल्पना उही आजकल ढलानेघर अझ भूकम्पमैत्री बनिरहेका बेला स्याउला र परालको कुटीमा बसोबास गर्ने सोच मात्र हो।हुनत ,दिग्गज व्यक्तिहरूबाट प्रमाणित भैसकेको नेपालको ओठे विकास मेरो यो लेख भ्यागुतो कराई मात्र हो ,किनकी कुनै लेख लेख्दा पछिको समय परिवर्तन हुन सके लेखाईको गाम्भिर्यता अझ ओझयुक्त बन्छ।तर हरेक आषाढ श्रावणको भ्यागुतो झै आउँछ र जान्छ नेपालको विकास नारा छेपारो उखान हो।फेरि कुरा उही आउँछ सरकारको । हुनत एउटा देशको हरेक संरचनाको जन्जिरको चाबी सरकारमानै हुन्छ।”घुमिफिरी रुम्जाटार “भनेझैं राम्रो काम भएपनि सरकार नराम्रो काम भएपनि सरकार।आखिर हामी आम जनताको आशानै सरकार हो ।हरेक सरकार गठन हुन्छन्,केही समय चल्छन् जान्छन् ।

हामीलाई भने विकासको त कुरै छोडौँ ,हात्तीआयो हात्ती आयो फुस्सा!मात्र भैरहेको छ।नेपालमा विकासको नाममा हरेक व्यवस्था फेरिए सरकार फेरिए तर विकास एउटा अधुरो अपुरो आशामात्र रह्यो।हरेक ठूलाबडा भनिने नेताहरूको विकास नारा उही सम्झिने पानी छम्किने खै के ,खै के।कहिलेकाँहि त यस्तो लाग्छ नेपाल अरू कुनै देशहरूले चलाईरहेछ।होइन भने साँझ बिहान हिड्ने परिवेशले केही न केही गिज्याउनु पर्ने हो ,दुख्नु पर्ने हो,पोल्नु पर्ने हो ।राजनीतिको चरम दुरुपयोग भैरहँदा संविधानमा प्रदत्तसार्वभौम हामी नेपाली, गोठालेको भेडाबाख्रा झैँ बनिरहेका छौँ ,बनाईएका छौँ।आज विश्व अर्थतन्त्रको लेखाजोखामा चल्दै गर्दा सम्भ्रान्त भनिने मुठ्ठीभरकाले सबै धनदौलत आफ्नो वशमा पार्दा यसको बितरण समान छैन।जस्तो सुकै कु कर्मलाई पावर पैसाको बन्धकीमा हजार पटक छुट गराईन्छ।विकासका लागि सम्पूर्ण कुरामा ध्यान जानु पर्ने सरकार खोई कुन कुरामा ब्यस्त छ उसैलाई थाहा छैन।लोकतन्त्र अनि लोकतान्त्रिक प्रणाली भनिएको छ तर सयौं पटक फेलिएर(असफल ) मान्छे सत्ताको बागडोरमा छन्।नहुन पनि कसरी नेताले जे गरेपनि चुईक्क बोल्न नसक्ने कार्यकर्ता अनि हरेक समय निराशा दिइरहने नेतृत्वलाई जम्मा मासुभातमा जिताईरहने हामी नेपाली भेँडा भएपछि।हिजोका हरेक दिन सम्झेर खाली निराश भैरहने छुट हामीमा छँदै छैन। तर के गर्नु भविष्य अझ अन्धकार उन्मुख छ।विश्व चन्द्रमामा शहरको योजना बुनीरहँदा हामी हाम्रै देशमा सहज आवतजावत गर्न सकिरहेका छैनौँ।

हरेक घन्टा मिनेट ,सेकेन्ड आशैआशाको मनको लड्डु चाखिरहेछौँ।हरेक समस्याको समाधान अवश्य छ र हुनपर्छ।नेपालमा पनि विकासलाई आशा मात्र नबनाउने एउटा अचुक औषधि भनेको भगवान् सँग किमजोङ नेतृत्व निस्कियोस् प्रार्थना हो।किनकी यहाँ देशका हरेक क्षेत्र लगभग फेलिएर(असफल) भैसके ।राजनीतिक दल, नेता ,कर्मचारी र नेपाली जनताको चेतनास्तर समेत क्षीण बन्दै गएको छ।आशैआशमा अल्झेको नेपालको विकास केही समय अझ धेरै सिथिल भएपनि ट्रयाकमा आएपछि आशा र भरोसाको विकासमा परिणत हुनेछ भन्ने अझै आशा गरौँ। खतिवडा मिडियाबाजी डटकमका विचारका लेखक हुन्।

तपाईंको प्रतिक्रिया

थप खबर