मिडियाबाजी डटकम काठमाडौं, चैत १२। धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा सरकारी गाडीको चरम दुरुपयोग भएको छ ।
दुरुपयोग गर्नेमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यकै छोरा रमेश आचार्य रहेका छन् , उनी नेकपा एमालेका जिल्लाका जिम्मेवार कार्यकर्ता हुन् र गएको निर्वाचनको प्रदेश सांसदको उम्मेदवार पनि । आफ्नो बुबा पालिका अध्यक्ष भएको शक्ति र सत्ताको आडमा रहेर आचार्यले पालिकाको बा २ झ ३६४१ नम्बरको पिक अप बोलेरो जिप हिजो ११ गते एमाले पार्टीको राजनैतिक कार्यक्रम “ग्रास रुट अभियान ” कार्यक्रममा विगत ३/४ दिनदेखि प्रयोग गरिरहेका छन् ।
हामीलाई प्राप्त सूचना अनुसार धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकामा भएको पार्टीगत कार्यक्रममा उक्त सरकारी गाडी पृष्ठभूमिमा रहेको फोटो उपलब्ध छ। सरकारी सम्पत्तिको चरम दुरुपयोगको यो भन्दा ठुलो उदाहरण अरू के होला ? पालिका अध्यक्ष रामकुमार आचार्य अध्यक्ष यो समय पारिवारिक भ्रमणमा अमेरिका रहेका छन्। उपाध्यक्ष यन्त्र बहादुर थापा ( जिन्दगी) का अनुसार अध्यक्ष ज्यूलाई नै यो विषयमा स्पष्ट थाहा होला उहाँ गएको दिनदेखि गाडी पालिका कार्यालयमा नरहेको हामीलाई जानकारी दिए।
अहिले पहुँच हुनेहरूको लागि विवाह, व्रतबन्ध भोजभतेरमा सरकारी गाडी लिएर हिँड्नु त सामान्य नै भईसकेको छ तर नेकपा एमालेले पार्टीको कार्यक्रममा नै जनताको करबाट किनिएको उक्त गाडी प्रयोग हुनुमा थाक्रेका जनप्रतिनिधिहरूको लाचारीपन र नैतिक भ्रष्टाचारको ज्वलन्त उदाहरण हो । सम्बन्धित निकायहरूको मौनताको कारण पनि थाक्रेमा यस्ता घटनाहरू पटक पटक घट्ने गरेका छन् ।