शिवरात्री किन मनाइन्छ ? हेर्नुहोस् धार्मिक महत्व

  फागुन ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,फागुन ६।देवताहरूका पनि देवता भएका कारणले शिवजीलाई “महादेव” पनि भनिन्छ । दुखहर्ता र सुखदाताका खानी भोलेनाथको महिमा अपरम्पार रहेको छ।

विशेषतः शिवरात्री किन मनाइन्छ र महत्व के छ त भनेर बुझ्नु पनि जरुरी हुन्छ। हामी विश्वमा रहेका सम्पूर्ण वैदिक सनातन धर्मावलम्बीहरूले महादेवको स्मरण स्वरुप गरिने व्रत एवं पूजाआजा ‘फाल्गुण कृष्ण पक्षको चतुर्दशी तिथिका दिन मनाइने विशेष पर्व’ लाई “महाशिवरात्री” भनिन्छ। त्यसो त प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन शिवजीलाई प्रसन्न बनाउन पूजाआजा एवं व्रत गर्ने चलन रहेको पाईन्छ। शिव शब्दको अर्थ कल्याण भन्ने बुझिन्छ। जो दयाको खानी हुनुहुन्छ,जसमा प्राणीहरू माथि दयाको भावना छ, जसमा भेद छैन वहाँ नै शिव हुनुहुन्छ। भगवान शिवलाई प्रेमको प्रतीक पनि मानिन्छ। जसरी सतीको वियोगमा शिवजीले प्रेमभाव प्रदर्शन गर्नुभयो सोहि भाव आज विश्वमा अनुशरणीय छ। भगवान शिवको निमित्त एवं भगवान शिवको नाममा पूजाआजा र व्रत सहित कटाइने रातलाई पनि शिवरात्री भनिन्छ। समुन्द्र मन्थनपछि फाल्गुण कृष्ण पक्षको चतुर्दशी तिथिका दिन शिव भगवानले आफ्नो घाँटीमा बिष राखी सम्पूर्ण लोकको कल्याण गर्नुभएकोले वहाँको स्मरण स्वरुप मनाइने पर्व पनि महाशिवरात्री पर्व हो।

(समुद्र मन्थन प्रसंग) लिङ्गपुराण अनुसार – भगवान शिव फाल्गुण कृष्ण पक्षको चतुर्दशी तिथिकै दिन ज्योतिर्लिङ्ग को रुपमा अवतार दिनुभएको दिनलाई पनि महाशिवरात्री भनिन्छ। यहि प्रसन्नतामा ब्रम्हाजी र विष्णुजी ले रातभर जाग्राम बसी भगवान शिवको निमित्त पूजाआजा एवं उपासना तथा भजन कीर्तन गर्नुभएको ‘शिवरात्री’ पर्वका दिन हो। साथै शिव पार्वतीको विवाह दिवसको रूपमा पनि महाशिवरात्री पर्व लाई मानिन्छ। बेलपत्र चढाउने,जल चढाउने तथा शिव भगवानले औषधि स्वरूप सेवन गर्नुभएको बिषभाङ र धतुरो चढाई वहाँलाई प्रसन्न बनाउने पर्वको रुपमा यो पर्वलाई मानिन्छ।

तपाईंको प्रतिक्रिया

थप खबर