मिडियाबाजी डटकम काठमाडौं,आश्विन २६। संखुवासभा।साब्लाबुङ पुस्तकालय अभियानको तेह्रौं पुस्तकालय चिनको सिमानामास्थित संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका वडा नं- ३ मा अवस्थित श्री गुवाछेसा आधारभूत विद्यालयलाई प्रदान गरिएको छ।
१ हजार ५१ वटा पुस्तकहरूमा करिब १ लाख ६१ हजार मूल्य बराबरको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । पुस्तकालयमा बाल साहित्यलाई बिशेष प्राथमिकता दिइएको छ प्रौढ साहित्य, कृषि शिक्षा स्वास्थ प्रविधिका साथै जीवनीका पुस्तकहरू समेत उपलब्ध गराईएको छ ।पुस्तकालयलाई समुदायले पनि उपयोग गर्ने गरी विद्यालयले व्यवस्थापन गरेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साङ्गा तेन्जिङ भोटे अध्यक्ष तथा प्रमुख अतिथि मिथुन च्याङ्बा भोटे रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा वडा नं ३ का अध्यक्ष पासाङ भोटे लगाएतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। पुस्तकालय संयोजक तथा गुवाछेसाका शिक्षक मन कुमार राईले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरूले पुस्तकालयको महत्वमा प्रकाश गरेका थिए।
पुस्तकालय अभियानका अध्यक्ष हङकङ निवासी राज कुमार राई रहेका छन्। उनले जानकारी दिए अनुसार केही दिनमा मुगु भोजपुरका विद्यालयहरूमा समेत पुस्तकालय हस्तान्तरण कार्यक्रमहरू हुँदै छन्। निकट भविष्यमा विद्यालयका साथै , कारागारहरूमा समेत पुस्तकालय स्थापना गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले मिडियाबाजी डटकमलाई जानकारी दिएका छन्।