मिडियाबाजी डटकम काठमाडौं, भाद्र २७ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी असोज १ गतेका लागि तोकिएको छ ।
यसअघि गत भदौ २१ गतेको सनुवाईमा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको हाल बसाई सर्नुअघिको स्थानीय तहबाट किशोरीको जन्ममिति खुल्ने कागजात मगाउन आदेश दिएको थियो ।
हाल किशोरीको परिवार बसोबास गरिरहेको स्थानीय तहमा अन्यत्रैबाट बसाई सरेर आएका हुन् । किशोरीका जन्ममिति फरक फरक पाइएपछि अदालतले बसाई सर्नुअघिको स्थानीय तहको कागजातमा वास्तविक जन्ममिति हुन सक्ने भन्दै कागजात मगाउन आदेश दिएको हो ।
यस्तै किशोरीकी आमाको पनि जन्ममिति विवादित देखिएपछि आमाको पनि जन्ममितिसम्बन्धी कागजात अदालतले माग गरेको हो । स्थानीय तहबाट किशोरीको जन्ममिति सहितको कागजात अदालतमा पुगेकाले १ गतेका लागि पेशी तोकिएको हो ।
सम्भवत सोही दिन अन्तिम फैसला आउन सक्नेछ ।