मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २७। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।
भक्तपुरमा शनिबार आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेकपा ब्युँताउन आफू तयार रहेको बताएका हुन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेकपा ब्युँताउन तयार रहेको उनको भनाइ छ ।अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेरहद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए ।
उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसिनरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरूले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।अध्यक्ष नेपालले मुलुकको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए ।