विश्वबाट लोप हुँदै वन कुकुर

  जेठ २७, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २७। विश्वबाट लोप हुँदै वन गईरहेको कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।

लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक्षणका लागि विश्वका केही मुलुकबाट वैज्ञानिक, अभियन्ता र विज्ञहरू लागि परिरहेका छन् । यसै सन्दर्भमा क्यानडिड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुपको आयोजनामा हालै नेपालमा सप्ताहव्यापी दोस्रो ‘अन्तर्राष्ट्रिय वन कुकुर’ सम्मेलन नेपालमा सम्पन्न भएको छ । यस अघि यस्तो पहिलो सम्मेलन सन् २०१९ मा थाइल्याण्डमा भएको थियो ।यही जेठ १८ देखि २४ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनमा वन कुकुर संरक्षणका काम गरिरहेका विभिन्न १३ देशका ४० जना वन कुकुर संरक्षणकर्मीको सहभागिता रहेको थियो । सम्मेलनले वन कुकुर संरक्षण कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने निष्कर्ष निकालेको छ ।

सम्मेलनमा वन कुकुरको अवस्था, सङ्ख्या वितरण, आहारको उपस्थिति तथा संरक्षणका लागि गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल भएको ग्रुपका नेपाल संयोजक डा अम्बिका प्रसाद खतिवडाले जानकारी दिनुभयो । यसले सरकारलाई नीतिगत सहयोग पुग्ने उहाँको विश्वास छ ।वन कुकुरमा स्नातकोत्तरको शोधकर्ता तुष्णा रायमाझी हालसम्म यस क्षेत्रमा भएका अध्ययनले यसको सङ्ख्या निर्धारण र बासस्थान क्षयीकरण बारेमा पर्याप्त जानकारी हासिल गर्न नसकेको बताउनुहुन्छ । यसको संरक्षण गरेर पर्यटनसँग पनि जोड्न सकिने उहाँको धारणा छ । वन कुुकुरका अर्का अध्ययनकर्ता अस्मिता पाण्डे यसको संरक्षणका लागि संरक्षण कार्ययोजना आवश्यक रहेको जोड दिँदै वन कुुकुर देखिएका स्थानमा सम्बन्धित स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउनुहुन्छ ।

वन कुकुर उभिँदा १७–१२ इञ्च र लम्बाइमा तीन फिटसम्मका हुने गर्दछन् । सामान्यतया पानीको स्रोत आसपास रहेका साधारण गुफा, जटिल गुफा, चट्टानको मुनि यिनीहरूको बसोबास देखिन्छ । औसत पाँचदेखि १० सङ्ख्याको समूहमा रहने यी वन कुकुर भने अन्य कुकुर प्रजाति ९अफ्रिकी जङ्गली कुकुरसहित० भन्दा शान्त स्वभावका हुन्छन् । यिनीहरू एकान्तप्रेमी हुने हुँदा मानिसको वरपर निकै कम देखिने गर्दछन् ।सन् २०१५ को तथ्याङ्कअनुसार विश्वभर दुई हजार पाँच सयको हाराहारीमा वन कुकुर रहेको अनुमान छ । नेपालमा यो वन्यजन्तु यति नै सङ्ख्यामा छन् भन्ने यकिन नभए पनि सयदेखि दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । वन कुकुर नेपालसहित भारत, चीन, बङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनसिया, मलेसिया, म्यानमार, थाइल्यान्ड र लाओस् गरी ११ वटा देशमा पाइएको बताइन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर