प्रभावकारी भएन आत्महत्या रोकथामका प्रयास

  माघ २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २६ । यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ ।

आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उनको मृत्यु भयो । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौंमा मृतक आचार्य पत्नीले दिएको किटानी जाहेरीपछि आचार्यले लेखेका नामका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

आचार्यले आत्मदाह प्रयास गरेकै दिन सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का रामदेव मरिक ९डोम०ले एक सहकारीबाट लिएको एक लाख रुपियाँ ऋणको सावाँ ब्याज तिर्न नसक्दा आत्महत्या गरे।

छोराको विवाह गर्दा ग्लोबल आईएमई लघुवित्तबाट ९० हजार रुपैयाँ तथा महुली लघुवित्तबाट १५ हजार रुपैयाँ ऋण संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएर ताकेता गरेका थिए ।

त्यसको भोलिपल्ट माघ १२ गते विराटनगरका व्यवसायी मोहन न्यौपानेले आर्थिक भार खेप्न नसकी आत्महत्या गरे । विराटनगर सनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेले लेखेको सुसाइड नोटमा पनि आत्महत्याका कारण आर्थिक तनाव उल्लेख गरिएको छ । यी घटना सेलाउन नपाउँदै माघ २० गते काठमाडौंको पुरानो बानेश्वरस्थित टङ्कप्रसाद मार्गका किशोर श्रेष्ठले सात वर्षीया छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रामेछापको खाँडादेवी स्थायी घर भई काठमाडौंको ग्वगँःबुँमा फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले शारीरिक अपाङ्गता भएकी छोरीको घाँटी रेटेर हत्या गरेपछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको अवस्थामा प्रहरीले दुवै जनाको शव फेला पारेको जनाएको छ । यी यही माघमा भएका केही प्रतिनिधि घटना मात्र हुन् । नेपालमा दैनिक औसत १८ जना व्यक्तिले आत्महत्या गर्ने गरेका छन् तर त्यस्ता सबै घटना अनुसन्धान र छानबिनको दायरामा आउँदैनन् ।

मानसिक रोग, लागू पदार्थको अत्यधिक सेवन, उपचारमा आर्थिक समस्या, सामाजिक अपहेलना तथा बहिष्करण तथा सामाजिक सञ्जालको गलत प्रयोगका कारण यस्ता घटना दैनिक बढ्दै गएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार दैनिक औसत १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । आर्थिक वर्ष २०७९र८० को सात महिनामा मात्र तीन हजार १५१ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष एक हजार ४६५, महिला एक हजार ३२ तथा १३५ बालक र २२८ बालिका छन् । गोरखापत्र दैनिकबाट

तपाईंको प्रतिक्रिया

थप खबर