मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २५ । वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ । कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन् । सिंगापुर पुयाउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ ।
तिनै ३९ जनामध्येका चार जना करिब चार महिनादेखि काठमाडौंको एक होटलमा बन्धकको अवस्थामा छन् । काठमाडौंको कोटेश्वरस्थित ओल्ड दरबार होटलमा अछामका मीन अधिकारी र प्रेम साउद, बाजुराका भरेन्द्र सिंह र कैलालीका सुरेन्द्र शाह बन्धक बनेर रहेका हुन् ।
रोजगारीका लागि आचार्यको प्रतीक्षामा बस्दाबस्दै होटलको बिल बढ्दै जाँदा पैसा तिर्न नसक्दा उनीहरू बन्धक बन्नुपर्ने अवस्थामा पुगेका हुन् । सिंगापुर पठाइदिने बताउँदै पैसा असुलेका आचार्य सम्पर्कविहीन छन् ।
ुऋण खोजेर ल्याएको पैसा लिएर सुजन आचार्य पनि सम्पर्कमा छैनन्, प्रेम साउदले भने, ऋण खोजेको पैसा, होटलमा बस्दा खाएको पैसा तिर्न नसक्दा साहुले पनि बन्धक बनाएको छ । हामी चारजना चार महिनादेखि होटलमै बस्न बाध्य छौं । चार जनाले होटलमा बसेको र खाएको मात्र साढे ४ लाखजति भइसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।