मिडियाबाजी डटकम काठमाडौं,बैशाख २५। काठमाडौं महानगरले टुकुचा (इच्छुमती) खोला आसपासका संरचना हटाएरै छाड्ने योजना पुनः अघि सारेको छ ।
उच्च अदालत पाटनले कानुनी प्रक्रिया पूरा गरेर व्यक्तिको जग्गाको लगत कट्टी गरेर टुकुचाको नाममा फर्काउन आदेश दिएपछि दशकौँदेखि जमिनमुनि दबिएको टुकुचालाई खुला गर्न महानगर पुनः लागि परेको छ।करिब आठ महिनाअघि पनि महानगरले टुकुचा खोला खुला गर्ने प्रयास गरेको थियो । त्यतिवेला स्थानीयले उच्च अदालत पटनमा महानगरविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको न्यायाधीश महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले १८ माघ ०७९ मा सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।
फैसलामा टुकुचा (इच्छुमती) खोल्सा वा ढल नभई बागमतीको सहायक नदी भएको उल्लेख गर्दै यसको प्राकृतिक क्षेत्र रहने उल्लेख छ ।काठमाडौंको बाँसबारी–महाराजगन्जबाट नारायणहिटी–जयनेपाल हल, थापाथली हुँदै बागमतीमा मिसिने टुकुचा (इच्छुमती)को एक सय २४ रोपनी जग्गा अतिक्रमण भएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाले यस्ता अवैध संरचना भत्काउने अभियान गत भदौदेखि नै थालेको थियो । तर, अदालतको स्टे अर्डर दिएपछि उक्त कार्यमा ‘ब्रेक’ लागेको थियो । हात्तीसार क्षेत्रका किरणप्रकाश साख, शारदा मानन्धर, भोलाविक्रम थापा, उत्तरमान लामासहित १८ जना घरधनीले ३१ भदौमा उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनीहरूमध्ये अधिकांशले ०३२, ०३८, ०४२, ०४५ सालमा महानगरबाटै घर निर्माण इजाजतपत्र लिएर घर निर्माण गरेको भन्दै अदालतले ‘स्टे अर्डर’ जारी गरेको थियो । उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले स्थानीयले प्रमाणसमेत प्रस्तुत गरेकाले सोही आधारमा अदालतले फैसला गरेको बताए ।
यही फैसलालाई आधार मान्दै महानगरका मेयर बालेन्द्र साहले टुकुचा ढल नभएर खोला भएको र अब व्यक्तिको जग्गा कट्टी गरेर खोलाको क्षेत्रफल कायम गरिने बताएका छन् । ‘नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रले घोषणा गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सो फैसलाले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनर्स्थापना तथा संरक्षणका लागि काठमाडौं महानगरपालिकालगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षणसमेत गरेको छ ।’ उनले खोला छोप्ने कार्य बर्जित रहेको भन्दै यस्तो कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्ने जनाएका छन् । उनले महानगरले चालेका कुनै पनि कदम खेर नगएको पनि बताए ।