मिडियाबाजी डटकम काठमाडौं, चैत २२। लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने भएको छ । नेपाली भाषा बचाउ अभियन्ताहरू, भाषाका साहित्यकार तथा जानकारहरूले सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको भन्दै विरोध जनाउँदै आएका थिए , तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीमा लेख्न पाइने निर्णय गरेको हो ।
अब सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ अनुसार निर्णय गरेको हो ।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो निर्णय सार्वजनिक गरिन् । उनका अनुसार पुरानोलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने निर्णय गरिएको छ । यसअघि अब इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्नैपर्ने बाध्यता थियो ।